मेटाले यी दुई स्टार्टअपलाई दशकअघि खरीद गरेको थियो र अहिले यी दुई प्लाटफर्म मेटाको सबैभन्दा ठूलो व्यवसायिक खम्बा बनिसकेका छन् ।

२०८२ वैशाख २ गते मङ्गलबार

समस्यामा जुकरबर्ग, ह्वाट्सएप र इन्स्टाग्रामबाट छुट्टिनुपर्ने जोखिम
विज्ञका अनुसार अहिले सोसल मिडिया बजारमा टिकटक, स्नापच्याट, युट्युब जस्ता धेरैवटा ठूला खेलाडी छन्, जसका कारण आयोगलाई मेटाको एकाधिकार सावित गर्नु चुनौतिपूर्ण हुनेछ

काठमाडौं। प्रविधि क्षेत्रको दिग्गज कम्पनी मेटाले एउटा ऐतिहासिक मुद्दाको सामना गरिरहेको छ । यो मुद्दाले कम्पनीबाट ह्वाट्सएप र इन्स्टाग्रामलाई अलग गर्नका लागि बाध्य पार्न सक्दछ ।

मेटाले यी दुई स्टार्टअपलाई दशकअघि खरीद गरेको थियो र अहिले यी दुई प्लाटफर्म मेटाको सबैभन्दा ठूलो व्यवसायिक खम्बा बनिसकेका छन् ।

मेटाविरुद्धको उक्त मुद्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा सुरु भएको थियो । सन् २०२० मा दायर भएको उक्त मुद्दामा संघीय वाणिज्य आयोगले मेटा (तत्कालीन फेसबुक) माथि प्रतिस्पर्धा समाप्त पार्न र सोसल मिडियामाथि अवैध रुपमा एकाधिकार कायम गर्नका लागि ह्वाट्सएप र इन्स्टाग्राम खरीद गरेको आरोप लगाइएको थियो ।

प्रतिस्पर्धा गर्नुभन्दा खरिद गर्नु राम्रो भन्ने जुकरबर्गको रणनीतिलाई लागु गर्दै फेसबुकले आफ्नो लागि खतरा बन्नसक्ने कम्पनीहरु खरिद गरेर आफूमा विलय गराउने गरेको आयोगको भनाई छ । सोही योजना अन्तरगत मेटाले सुरुमा इन्स्टाग्राम र त्यसपछि ह्वाट्सएप खरिद गर्‍यो।

फेसबुकले सन् २०१२ मा करिब १ अर्ब डलरमा इन्स्टाग्राम खरिद गरेको थियो । त्यसबेला इन्स्टाग्राम एउटा सानो फोटो शेयरिंग एप मात्रै थियो । त्यसको दुई वर्षपछि फेसबुकले २२ अर्ब डलरमा ह्वाट्सएप खरिद गर्‍यो। यी दुई प्लाटफर्मले फेसबुकलाई मोबाइल प्रयोगकर्ताबीच पुनः लोकप्रिय बनाउन सहयोग गरे, खासगरी युवा पुस्तामा ।

संघीय वाणिज्य आयोगका अनुसार फेसबुकले जानीबुझीकन ती नयाँ कम्पनीहरुलाई खरीद गर्‍योजो भविष्यमा उसका प्रतिस्पर्धी बन्न सक्दथे ।

तर मेटाले भने आफू विरुद्धको उक्त मुद्दा यथार्थभन्दा टाढा रहेको दाबी गरेको छ । अहिलेको समयमा इन्स्टाग्राम, ह्वाट्सएप तथा फेसबुकले टिकटक, युट्युब, आइमेसेज तथा एक्स जस्ता प्लाटफर्मजस्ता बराबर प्रतिस्पर्धा गरिरहको मेटाले जनाएको छ ।

मेटाका लागि के दाउमा छ ?

यदि अदालतले मेटाको विरुद्धमा फैसला गरेमा कम्पनीले इन्स्टाग्राम र ह्वाट्सएपलाई आफूबाट छुट्टाउनुपर्नेछ । यसको सिधा असर मेटाको आम्दानीमा पर्नेछ । किनकि रिपोर्ट अनुसार यो वर्ष सन् २०२५ सम्ममा इन्स्टाग्राम एक्लैले अमेरिकामा मेटाको कूल विज्ञापन आम्दानीको आधा भन्दा धेरै हिस्सा ओगट्नेछ ।

विज्ञका अनुसार अहिले सोसल मिडिया बजारमा टिकटक, स्नापच्याट, युट्युब जस्ता धेरैवटा ठूला खेलाडी छन्, जसका कारण आयोगलाई मेटाको एकाधिकार सावित गर्नु चुनौतिपूर्ण हुनेछ ।

यो मुद्दा केवल मेटाका लागि मात्र होइन पूरै प्रविधि उद्योगका लागि कोशेढुंगा सावित हुनसक्छ । गुगल तथा अमेजन जस्ता कम्पनीहरुले पनि यस्तै प्रकारका प्रतिस्पर्धा विरोधी कार्यको आरोपमा मुद्दाको सामना गरिरहेका छन् । एजेन्सीको सहयोगमा