

रंगेली। सुनवर्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा दुई स्थानीय युवक घाइते भएका छन्। दिउँसो करिब ४ बजे वडा नं ५ स्थित कासिजानमा भारतीय नम्बर प्लेट (DL 8 CAE 1386) को कारले प्रदेश १-०२-०५७ २४६७ नम्बरको एफजेड् फाइभ मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार स्थानीय निवासी सोनु कुमार साह र विकास कुमार साह घाइते भएका छन्। प्रारम्भिक उपचारका लागि घाइतेहरूलाई जिल्ला अस्पताल रंगेली लगिएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि रंगेली अस्पतालको निर्देशनमा थप उपचारका लागि मोरङ्ग सहकारी अस्पताल लगिएको परिवारजनले जानकारी दिएका छन्।
“हाल दुवै घाइतेको मोरङ्ग सहकारी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ,” परिवारका सदस्यले बताए।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार दुर्घटना पश्चात कारका चालक र सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ।