तीनकुनेको हिंसात्मक आन्दोलनबारे के भन्छन् आईजीपी ?

राजावादी भनिएकाहरूले चैत १५ गते शुक्रबार तीनकुने क्षेत्रमा आयोजना गरेको प्रदर्शन हिंसात्मक हुन पुग्यो। सुरक्षा निकायको प्रमुखका रूपमा यसलाई कसरी हेर्नु भएको छ ? 

आपराधिक काम भएको छ। आपराधिक कार्यमा संलग्न रहेका विभिन्न तह र तप्काका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएका छौं। घटनामा संलग्नलाई दिनहुँजसो पक्राउ गरी कानुनी दायरामा ल्याइरहेका छौं।

हालसम्म कति जनालाई पक्राउ गरिएको छ ? अनुसन्धान के हुँदै छ ? र, मुद्दाको प्रकृति कस्तो छ ? 

११ जनालाई राजद्रोहमा मुद्दा चलाउन अदालतबाट म्याद थप भएको छ। ४१ जनालाई आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको छ। सबैलाई कानुनी दायरामा ल्याउँदै छौं। आजै पनि ६ जनालाई पक्राउ गरिएको छ। भोलि म्याद थप गरेर अनुसन्धान अगाडि बढाउँछौं। प्रहरी अगाडि बढेको छ।
जे जतिलाई पक्राउ गरिएको छ, काठमाडांै उपत्यकाभित्रैबाट पक्राउ गरिएको हो। कोही कोही त उपत्यका बाहिर पुगिसकेका होलान् नि ?
उपत्यकामात्र होइन सातै प्रदेश र ७७ वटै जिल्लाका प्र्रहरी प्रमुखहरूलाई निर्देश गरिसकेको छु। प्रचलित कानुन प्रयोग गरेर अघि बढेका छौं।

प्रदर्शनका कमान्डर घोषित दुर्गा प्रसाईं त फरार छन् नि ? 
व्यापक खोजतलास गरिरहेका छौं। छिट्टै पक्राउ पर्छन्।

कहिलेसम्म भाग्न दिने ? 
कति दिन भाग्लान् र ? भागेर कहाँ पो जालान् र ? कानुनी दायरामा आउनै पर्ला नि !

फेसबुकमै लाइभ भिडियो पोस्ट गरिरहेका छन् त ? 
त्यो मलाई पनि थाहा छ।

उसो भए कहिलेसम्म पक्राउ पर्लान् ? 
चाँडोभन्दा चाँडो पक्राउ पर्छन्। हामी लागिपरेका छौं।