लोडशेडिङ हटेपछि निर्यात उद्योगीहरू खुशी 🤔

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेपछि उद्योगीहरू हर्षित भएका छन् । फेडेरेसन अफ नेपाल एक्स्पोर्ट एसोसिएसनले प्राधिकरणले औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेको भन्दै खुशी जनाएको छ ।

औद्योगिक क्षेत्रले भोगिरहेको लोडसेडिङको विकराल समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गरेर लोडशेडिङ घटाएको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, उर्जा मन्त्रालय र सरकारलाई एसोसियसनले धन्यवादन समेत दिएको छ ।

एसोसियसनले प्रेस विज्ञप्ति जारी गर्दै विगतमा औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङका कारण उत्पादनमूलक उद्योगहरुमा प्रत्यक्ष असर परिरहेको समेत जनाएको छ । एसोसियसनमा आवद्ध संघहरुमा सदस्य रहेका उद्योगहरुले क्षमताअनुसार निर्यातमुखी उत्पादन गर्न नपाएको, जसकारण उद्योगले आम्दानी तथा राज्यले राजश्व गुमाइरहेको र त्यसको असर समग्र अर्थतन्त्रमा परिरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।