कश्मिर घटनाबारे पूर्वराजाले भने: हिन्दूवादी माथिको आक्रमण निन्दनीय

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मु कश्मिरस्थित पहलगाममा भएको आतंककारी समूहको आक्रमणप्रति दुःख व्यक्त गरेका छन् ।

शाहले शनिबार एक समवेदना सन्देश जारी गर्दै उक्त आक्रमणका कारण हिन्दूवादी यात्रीहरूको निधन भएकोप्रति आफू दुःखी भएको बताएका छन् ।

‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्बु काश्मिर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरुको दुःखद निधन भएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ,’ पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनामा परि ज्यान गुमाएका एक नेपाली सहित सबै दिवंगत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धान्जली । साथै मृतकजनका सबै शोकसन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना ।’

‘वसुधैव कुटुम्बकम’ को आदर्शविपरित यस्ता अपराध हुनु पाप कर्म रहेको शाहले बताएका छन् ।

‘वसुधैव कुटुम्बकम”को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मालम्वीहरूको दिव्य मानवीय मान्यता हो । त्यो मान्यता विपरित यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण विश्वक्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ ।’

यस्तो घटनाको विश्वव्यापी भत्सना र निन्दा हुनुपर्ने आफ्नो धारणा रहेको शाहले विज्ञप्तिमार्फत् बताएका छन् ।