बुटवलका २७ वर्षीया सुदीप न्यौपानेले आतंकवादी हमलामा परी ज्यान गुमाएका छन्।

बुटवल : परिवारसहित भारतको जम्मु–कश्मिर घुम्न पुगेका बुटवलका २७ वर्षीया सुदीप न्यौपानेले आतंकवादी हमलामा परी ज्यान गुमाएका छन्। गत शनिबार उनी आमा रिमकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित भारतको भ्रमणमा निस्किएका थिए। मंगलबार कश्मिरको पहलगामको बैसारन पुगेका उनको परिवारमाथि हतियारधारीले आक्रमण गरेका थिए।

पहलगाम कश्मिरको चर्चित पर्यटकीय क्षेत्र हो। जसलाई भारतको स्विट्जरल्यान्ड भन्ने गरिन्छ। हतियारधारी समूहले सुदीपलाई ‘तेरो धर्म के हो ?’ भनेर सोधेका थिए। प्रश्नको उत्तर दिँदै सुदीपले आफू हिन्दु भएको बताए। त्यसलगत्तै उनीमाथि गोली प्रहार भएको उनका काका एवं बुटवल उपमहानगरपालिका १४ का वडाध्यक्ष दधिराम न्यौपानेले बताए।

भारतीय सञ्चारमाध्यममा खबर फैलिएपछि परिवारका सदस्यले सुदीप मृत्युको जानकारी पाएका थिए। बुधबार मात्रै मृत्युको खबर पाएका उनीहरूले घुम्न गएका परिवारका सदस्यसँग सम्पर्क गरेका थिए। परिवारका अन्य सदस्यहरू भने सकुसल छन्। सुदीप अविवाहित हुन्। उनकी बहिनीको दुई वर्षअघि बिहे भएको थियो। बुटवल उपमहानगरपालिका १४, बेलभरियामा उनी जन्मिएका हुन्। उनको परिवार बुटवलको कालिकानगरमा बस्दै आएका छन्। सुदीपले बुटवलमा हेल्थ असिस्टेन्स अध्ययन गरी काठमाडौंमा स्नातक गरेका थिए। बुटवलमा रहेर उनले जागिर गर्दै मुख स्वास्थ्यको विषयमा अभियान लिएर ग्रामीण क्षेत्रमा काम गर्दै आएको उनको परिवारले जनाएको छ।

सुदीप परिवारका एक्ला छोरा हुन्। उनका बाबु ध्रुव (कौशलराज) न्यौपाने रुपन्देहीको मोतीपुरस्थित भवानी माध्यमिक विद्यालयका शिक्षक हुन्। शिक्षक आन्दोलनमा काठमाडौं पुगेका उनले बुधबार बिहान बुटवल आउँदै गर्दा बाटोमै समाचार देखेर घटनाको जानकारी पाएका थिए। ‘मैले देवदह आउँदा फेसबुकमा हेरेर थाहा पाएँ’, उनले भने। उनले एक महिनाअघि मात्रै छोरालाई भेटेका थिए। बाबु र आमाबीच खटपट भएपछि उनीहरूबीच २०६८ मा सम्बन्ध विच्छेद भएको थियो। त्यसयता बाबु र आमा छुट्टाछुट्टै छन्। छोरा र छोरी भने आमासँगै बस्दै आएका छन्।

‘उनीहरू कश्मिर गएको पनि मलाई थाहा थिएन, त्यो जोखिमपूर्ण ठाउँमा किन गए होलान्’, उनले भने। शव ल्याउन सरकारले सहजीकरण गरिदिनुपर्ने उनले  माग गरे।

यो समाचार तयार पार्दासम्म सुदीपको शव नेपाल आइसकेको छैन। परराष्ट्र मन्त्रालयले भारतको लखनउ हुँदै शव ल्याउने तयारी गरेको जानकारी गराएको छ।

परराष्ट्रमन्त्री आरजु राणाको सचिवालका अनुसार जम्बुबाट शव दिल्ली ल्याइने र दिल्लीबाट लखनउसम्म हवाईजहाजमा ल्याइने छ। लखनउबाट स्थलमार्ग हुँदै बुटवल ल्याइने जनाइएको छ। बिहीबार बिहानसम्म शव बुटवल आउने अनुमान परिवारका सदस्यले गरेका छन्।

सुदीपको निधनले उनको पुख्यौली घर बेलभरिया शोकमा छ। उनका ८९ वर्षीया हजुरबुवा खेमानन्दले बिहान पूजापाठ गर्दैगर्दा नाति बितेको खबर पाए। हजुरबाआमालाई उनीहरू घुम्न गएको जानकारी थिएन। ‘हजुरबा भन्दै भेट्न आएको थियो, फेरि देख्नै नपाई दैवले लग्यो’, उनले भावविह्वल हुँदै भने।

सुदीपसहित मंगलबार हतियारधारीको आक्रमणमा कश्मिरमा २८ जनको ज्यान गएको हो। तीमध्ये एक नेपाली, एक यूएईका र अन्य सबै भारतीय नागरिक हुन्। कश्मिरमा धार्मिक आस्थाका आधारमा चलिरहेको आतंकवादीको समूहको मारमा यी परेका हुन्।

जम्बु–कश्मिरमा भएको घटनाको राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले दुःख व्यक्त गरेका छन्।