सुनसरीमा तस्करीका सामान ओसार्ने दुई समूहबीच भएको थियो गोली हानाहान

सुनसरी– सुनसरीको दक्षिणी देवानगञ्ज गाउँपालिका-२ मा सोमबार साँझ भएको गोली हानाहानमा तस्करका दुई समूह संलग्न रहेको खुलेको छ ।

 

देवानगञ्ज गाउँपालिका-२ स्थित यादव टोलबाट पूर्वतर्फको बाटोमा सोमबार साँझ गोली हानाहान भएको थियो। यो घटनामा चारजना घाइते भएका छन् ।

भारतबाट तस्करी गरेर ल्याएको सामान बेचिसकेपछि हिसाब बाँडफाँटका क्रममा दुई समूहबीच विवाद भएको थियो । हिसाब मिलाउने क्रममा विवाद भएपछि तस्कारका ६ जनाको समूहबीच झडपपछि गोली हानाहान भएको हो । त्यसक्रममा गोली लागेर तीनजना घाइते भएका थिए ।

 

गोली हानाहानमा सहभागीमध्ये देवानगञ्ज गाउँपालिका-१ का २१ वर्षीय पिन्टु यादव र २७ वर्षीय रबिनकुमार यादव पक्राउ परेका छन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार पक्राउ परेका ती युवक गोली हानाहानका क्रममा घाइते भएका थिए ।

 

दुई समूहबीच गोली हानाहानका क्रममा देवानगञ्ज गाउँपालिका-१ का शिवुकुमार मेहता गम्भीर घाइते भएका तिम्सिनाले बताए ।

 

अहिले मेहताको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । गोली काण्डमा संलग्न अन्य तीनजनाको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेकामध्ये कामेश्वर यादव, उनका छोरा जयकृष्ण यादव र भारतीय नागरिक राजा पासवान घटनापछि फरार छन् ।

घाइते रवीन्द्र यादवले केही समयअघि भारतीय नागरिक राजा पासवानसँग करिब १ लाख रुपैयाँ बराबरको काम गरेको बताए । त्यही पैसा माग्दा विवाद चर्किएपछि आफूहरूमाथि गोली प्रहार भएको उनले बताए ।