२०८२ बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अपील गरेकाे छ ।

नेपाल शिक्षक महासङ्घ २०८१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा छ ।

कोशी आवाज बैशाख ०२ गते

काठमाडौ। यसैक्रममा २०८१ चैत्र २० गतेबाट काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन चलिरहेको छ । महासङ्घले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन भएकाे जनाउँदै यो आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेकाे छ ।

आन्दाेलन थप शसक्त बनाउन भन्दै महासङ्घले हिजाे पुन: विज्ञप्ति जारी गर्दै देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आउनुहुन सबै प्रधानाध्यापक, शिक्षक-कर्मचारी साथीहरुलाई आग्रह गरेकाे छ ।

साथै महासङ्घले अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउने पावन उद्देश्यबाट गरिएको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै संस्थागत विद्यालय समेत बन्द गरिदिई आन्दोलनलाई सघाउनुहुन प्याब्सन र र एनप्याब्सनलाई समेत अनुरोध गरेकाे छ । महासङ्घले काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनको यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै प्र अ तथा शिक्षक-कर्मचारी साथीहरुमा जोडदार आग्रह गर्दै २०८२ बैशाख ११ गतेबाट हुने कक्षा १२ को परीक्षामा समेत केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि काममा संलग्न नहुनु हुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरुमा अपील गरेकाे छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘शीघ्रातीशीघ्र शिक्षा ऐन जारी गराई विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको यस आन्दोलनलाई सहयोग तथा समर्थन गरी दिनुहुन विद्यार्थी, अभिभावक, वि.व्य.स, गाउँ/नगरपालिका तथा सबै शैक्षिक सरोकार पक्ष समक्ष अनुरोध गर्दछौँ ।’