

वीरगन्ज : वीरगन्जमा शनिबार हनुमान जन्मोत्सवको अवसरमा निकालिएको शोभायात्राका क्रममा दुई फरक समुदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ। शनिबार अपरान्ह शोभायात्राले नगरपरिक्रमा गर्ने क्रममा वीरगन्जको छपकैयामा पुगेपछि दुई फरक धर्मका समुदायबीच झडप भएको हो।
स्थिति नियन्त्रणमा आउन नसकेपछि स्थानीय प्रशासनले वीरगन्ज शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। वीरगन्जमा शनिबार बेलुकी ६.३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। उनका अनुसार पूर्वमा भेडियाही चोक, उत्तर गण्डक चोक, पश्चिममा सिर्सिया चोक र दक्षिणमा शंकराचार्य गेट गरी चार किल्ला तोकर वीरगन्ज शहरी क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो।
दुई समूहबीचको झडप नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जका साथै अश्रुग्यास र हवाई फायर पनि प्रहार गर्यो। छपकैयाको इदगाह चोकमा शनिबार बेलुकी ८ बजेसम्म पनि प्रहरी र स्थानीयबीच झडप चलिरहेपछि नेपाली सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।
उनले भने, ‘बेलुकीसम्म पनि स्थिति नियन्त्रणमा नआएपछि कर्फ्यु लगायौं। कर्फ्यु लागेपछि सेना सडकमा आयो। स्थिति विस्तारै अब नियन्त्रणमा आउन थालेको छ। शनिबार बेलुकी ८ बजेसमम प्रहरीले दुई राउण्ड हवाई फायर र १ सय ३० राउण्ड अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
उनका अनुसार झडपमा परी प्रहरी र स्थानीय गरी ४० जना घाइते भएका छन्। प्रहरीतर्फ पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रसिंहसहित २५ जना प्रहरी घाइते भएको अर्यालले जानकारी दिए।
त्यस्तै प्रदर्शनकारीतर्फ पनि शनिबार बेलुकीसम्म १५ जना घाइते भएको उनले बताए। घाइतेहरूरुको वीरगन्जको नारायणी अस्पताल र अन्य अस्पतालमा उपचार भइरहेको उनले बताए।
प्रजिअ अर्यालका अनुसार शनिबार दिउँसो घण्टाघर चोकबाट निस्किएको हनुमान जन्मोत्सवको शोभायात्रा छपकैयाको श्रीराम हल नजिक पुगेपछि शोभायात्रामा सहभागी एक जनाले बोकेको जय श्रीरामको झण्डा एक अपरिचित युवाले खोसेका थिए। त्यसपछि विवाद सुरु भई दुई समुदायीच झडप भएको र त्यसले स्थिति तनावग्रस्त बन्न पुगेको थियो।