

काठमाडौँ। रास्वपाले भन्यो- प्रहरी पक्राउ पुर्जी नलिई आयो, बेडरूमभित्र बसेर पुर्जी लेखियो
भर्चुअल माध्यमबाट बसेको रास्वपा केन्द्रीय सचिवालयको बैठकले सभापतिलाई पक्राउ गर्दा प्रहरीले गरेको अभ्यासको भर्त्सना गर्ने निर्णय गरेको हो।
रास्वपाले प्रहरी पक्राउ पुर्जी नै नलिइ सभापतिको घरमा पुगेको र सभातिको बेडरूमभित्र बसेर पुर्जी लेखेको बताएको छ।
‘जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर-संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्छौं,’ रास्वपाको निर्णयमा भनिएको छ।
लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनको घरमै पुगेर पक्राउ गरेको थियो। पक्राउ गरेपछि सिआइबीले जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको थियो।
लामिछाने अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमै छन्। आज उनलाई रूपन्देही लगिनेछ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलन र संगठित अपराधमा रूपन्देही जिल्ला अदालतले यसअघि लामिछानेलाई १ करोड धरौटीमा छाड्ने आदेश गरेको थियो।
त्यो आदेश बदर गर्न र साधारण तारेखमा छुट्न माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए। उच्चले जिल्ला अदालतको आदेश उल्ट्याएर पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेपछि लामिछाने गएराति नै पक्राउ परेका हुन्।