टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्युपछि हरैँचामा तनाव

विराटनगर। टिपरको ठक्करले मोरङको सुन्दरहरैँचा नगरपालिका–१ को हरैँचामा मोटरसाइकल चालकको मृत्यु भएको छ । घटनापछि हरैँचा बजार तनावग्रस्त बनेको छ।

 

प्रहरीका अनुसार विराटनगर–विराटचोक सडक खण्डको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिएको थियो।

 

विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले पछाडिबाट ठक्कर दिँदा चालक सुनसरीको दुहबी नगरपालिका–९ का ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको हो।

 

दुर्घटनापछि स्थानीयले विराटनगर–विराटचोक सडक खण्ड अवरुद्ध बनाएर प्रदर्शन गरिरहेका छन्। भीडले शवलाई सडकबाट अन्यत्र लैजान दिएको छैन। भाला र लाठीसहित प्रदर्शनमा उत्रिएका स्थानीयले टिपरमा आगजनीको प्रयास गरेका छन्।

 

घटनास्थलमा ठूलो संख्यामा नेपाल र सशस्त्र तथा ट्राफिक प्रहरी परिचालन गरिएको छ । ट्राफिक प्रहरीले उक्त सडक खण्ड हुँदै चल्ने सवारीसाधनलाई अन्यत्रबाट गन्तव्य पठाउने काम भइरहेको प्रहरीले जनाएको छ।

 

टिपरको दादागिरी बन्द गर्नुपर्ने, उक्त सडकमा टिपर सञ्चालनमा रोक लगाउनुपर्ने, मृतकलाई क्षतिपूर्ति हुनुपर्ने, चालकमाथि कारबाही गर्नुपर्ने लगायतका माग राखेर अहिले प्रदर्शन भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए।

 

तनाव बढ्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन डीएसपी मदन केसी नेतृत्वको टोली घटनास्थलमा परिचालन गरिएको छ। गिट्टी लोड गरिएको टिपरको तीव्र गतिकै कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

 

प्रहरीका अनुसार कान्छाराम कन्स्ट्रक्सनको टिपर विराटनगरका अभिषेक गिरीले भाडामा लिएर निर्माण सामग्री ढुवानीमा प्रयोग गर्दै आएको खुलेको छ। टिपर चालक पवन योन्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Source:सरल पत्रिका