

कोशी आवाज
काठमाडौं : आतंकवाद विरुद्धको लडाइँमा भारतलाई आफ्नो पूर्ण साथ रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। भारतको जम्मु–कश्मिरमा मंगलबार भएको आतंकवादी हमलाको भर्त्सना गर्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई आफ्नो ऐक्यबद्धता जनाएका हुन्। उनले मोदीसँगको टेलिफोन संवादमा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको जनाए।
‘मैले उहाँ (मोदी) सँग कुरा गरेँ र पहलगाम आतंकवादी हमलामा ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गरेँ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता जघन्य कार्यहरूविरुद्ध भारतसँग नेपालको अटल ऐक्यबद्धता दोहोर्याएँ।’ भारतको जम्मु–कश्मिरको अनन्तनाग जिल्लास्थित पहलगामको बैसारन मिडोमा मंगलबार दिउँसो २ बजेर ५० मिनेट जाँदा आतंकवादी हमला भएको छ। उक्त आक्रमण बैसरान भन्ने स्थानमा भएको हो। सो ठाउँ भारतको मुख्य पर्यटकीय स्थानका रूपमा चिनिँदै आएको छ। गत वर्ष मात्रै कश्मिरमा ३५ लाख पर्यटक पुगेका सरकारी तथ्यांक छ। तर, त्यसमा पनि सबैभन्दा बढी पहलगाममै आएको तथ्यांक भारत सरकारले सार्वजनिक गरेको छ।
उक्त हमला भएकै बखत पनि त्यहाँ पर्यटक खचाखच थिए। त्यही समयमा आतंककारीले पर्यटक, स्थानीय बासिन्दा र व्यावसायिक गतिविधिमा संलग्न नागरिकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
उक्त घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका र २० भन्दा बढी घाइते भएका भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। अन्य २ जनाको अवस्था पनि चिन्ताजनक रहेको जनाइएको छ।
मृत्यु हुनेमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक यूएईका नागरिक) छन्।
उक्त आतंकवादी हमलाको जिम्मेवारी लस्कर–ए–तोएबा नामक पाकिस्तानस्थित आतंकवादी समूहको छाया संगठन ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने र आतंकवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश उनले दिएका छन्। घटनापछि गृहमन्त्री अमित शाह कश्मिरको श्रीनगर पुगेका थिए।
मंगलबारको घटना २०१९ को पुलवामा हमला पछिको सबैभन्दा घातक आतंकवादी हमलामध्ये एक मानिएको छ। आक्रमणमा आतंककारीहरूले हिन्दू र मुस्लिम पर्यटकहरूलाई छुट्ट्याउन क्रूर र अमानवीय तरिका अपनाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ।
आक्रमण भएको क्षेत्र पैदल वा घोडा चढेर मात्र पुग्न सकिन्छ। यही कारण आतंककारीले यसलाई हमलाका लागि उपयुक्त ठाउँ बनाएका थिए।
सन् १९९० को दशकदेखि भारतीय शासनको विरोधमा पृथकतावादी सशस्त्र विद्रोह सुरु भएयता भारतको उक्त क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधारणसमेत गरी दशौँ हजारको ज्यान गइसकेको छ।
भारतले यो क्षेत्रमा करिब ५ लाख सैनिक स्थायी रूपमै परिचालन गरेको छ। भारत सरकारले सन् २०१९ मा कश्मिरको आंशिक स्वायत्तता खारेजी भएसँगै यो क्षेत्रमा सुरक्षा अवस्थामा सुधार र हिंसामा कमी आएको दाबी गर्दै आएको छ। तर, पनि बेलाबखत यस्ता घटनाहरू घट्ने गरेका छन्। यसअघि सन् २०२४ को जुनमा सर्वसाधारण लक्षित आक्रमण भएको थियो। हिन्दू धर्मावलम्बीहरू चढेको बसमा सशस्त्र समूहले गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो भने ३३ जना घाइते भएका थिए।
त्योभन्दा अघि सन् २०१९ मा भारत प्रशासित कश्मिरमा भएको आत्मघाती आक्रमणमा ४६ जना सैनिक मारिएका थिए। ठीक त्यही बेला चारदेखि ६ जनाको संख्यामा रहेका आतंककारीले स्वचालित हतियार बोकेर पर्यटकहरूमाथि ‘तिमी हिन्दु हौ कि मुस्लिम’ भन्दै सोधीसोधी मुस्लिमलाई छाडेर हिन्दुलाई क्रुर आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
कश्मीरमा भारतले कथित रूपमा ‘जनसांख्यिकीय परिवर्तन’ ल्याउन खोजेको भन्दै त्यसको विरोधका रूपमा यो हमला गराएको आतंककारीको भनाइ छ। उनीहरूले ८५ हजारभन्दा बढी बाहिरी मानिसलाई कश्मीरमा बसोबास गराइएको आरोप लगाएका छन्।मोदी साउदीबाट बुधबारै फर्कने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मिरको पहलगाममा भएको दुःखद आतंकवादी आक्रमणको घटनापछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्ट्याउने निर्णय गरेका छन्। उनी बुधबार राति नै स्वदेश फर्कंदै छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दुःख प्रकट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जम्मु–कश्मिरको पहलगाममा भएको दुःखद आतंकवादी आक्रमणप्रति गहिरो दुःख प्रकट गरेका छन्। सो आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा कुराकानी गर्ने तयारी गरिरहेको ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले जानकारी दिइन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा लेभिटले भनिन्, ‘पहलगामको लोकप्रिय पर्यटक स्थलमा भएको आक्रमणबारे राष्ट्रपति ट्रम्पलाई राष्ट्रिय सुरक्षा सल्लाहकार मार्फत जानकारी गराइएको थियो। उक्त घटनाको विषयमा जानकारी पाउने बित्तिकै राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीजीसँग वार्ता गर्नुभएको छ र भारतको यस कठिन घडीमा अमेरिकाको पूर्ण समर्थन व्यक्त गर्नुभएको छ।’
राष्ट्रपति ट्रम्पले आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा समेत प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘कस्मिरबाट प्राप्त भएको यो अत्यन्त पीडादायी समाचारले गहिरो पीडा पुर्याएको छ।
अमेरिकाले आतंकवादविरुद्धको संघर्षमा भारतसँग दृढतापूर्वक साथ दिनेछ। हामी मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’ यसैगरी रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युरोपेली संघकी प्रमुख उर्जुला फोन देर लेयनसहितका विश्वनेताहरूले उक्त घटनाको भत्र्सना गरेका छन्।
घटनास्थलमा सुरक्षामा कडाई
कश्मिर राज्यका मुख्यमन्त्री उमर अब्दुल्लाहले उक्त घटनालाई ‘पछिल्ला वर्षहरूमा सर्वसाधारणप्रति लक्षित सबैभन्दा ठूलो आक्रमण’ भएको बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार घटनापछि उक्त क्षेत्रलाई घेराबन्दी गरिएको छ र सुरक्षाकर्मीहरूले त्यस क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनहरूलाई निकै कडाइ गरेका छन्।
आक्रमणमा संलग्न भएकाहरूको खोजीका लागि भारतीय सेना र प्रहरीको संयुक्त टोली खटिएका छन्। मुस्लिम समुदायको बाहुल्य भएको यो क्षेत्रमा सन् १९८९ देखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षहरूमा आक्रमणका घटनाहरू भएका थिएनन्।
सदैव द्वन्द्वको चपेटामा रहेको कश्मिरमा पर्यटकमाथि भएको आक्रमण भने पहिलो हो। पर्यटकहरू माझ निकै लोकप्रिय यो स्थानमा अहिले वर्षको सबैभन्दा धेरै पर्यटकहरू आउने समय हो। जम्मू कश्मीरका प्रहरी प्रमुख विधिकुमार विर्दीले गोली प्रहार भएको स्थानमा सवारीसाधनहरू नपुग्ने बताएका छन्।के भन्छ पाकिस्तान ?
पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले पहलगाममा भएको घटनामा आफ्नो देशको संलग्नता नभएको स्पष्ट पारेका छन्। कश्मिरमा भएका घटनालाई भारत सरकारविरुद्ध फैलिएको घरेलु विद्रोहको कारण देखाउँदै उनले आक्रमणका लागि पाकिस्तानमाथि दोषारोपण गर्ने काम बहाना मात्र भएको बताएका छन्।
उनले पाकिस्तानको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्ने गरेको आरोपसहित वक्तव्य निकालेका छन्। भारतले विगतमा त्यस्तो आरोपको खण्डन गरेको थियो।
भारत विभाजन भई पाकिस्तान बनेदेखि दुवै देशले कश्मिरको भूमि आफ्नो स्वामित्वमा हुनुपर्ने दाबी गर्दै आएका छन्। यही बहानामा कश्मीरमा दशकौंदेखि भारत सरकारविरुद्ध विद्रोह चल्दै आएको छ।